LATEST:


विजेट आपके ब्लॉग पर

गुरुवार, 27 मई 2010

यी कुटाइ खाने र भाग्नेको गनगन

बालकृष्ण भट्टराई

दिन त्यसै त्यसै एक तमासले बगेको छ । यसलाई रोक्न कसैका बाउको बुताले भ्याएन वा सकेन र सायदै सक्ला भनेर विश्वास पनि म गर्न सक्दिन । मात्र यो बाटो पहिल्याउने एउटा स्रोत या बहाना बाजी हो मेरो । सँधै दिनभरिको गन्थनले वाक्क भएर कहिले कहिले त यसो बाहिर जान मन लाग्छ साथीहरु बनाउन मन लाग्छ नयाँ ठाउँ हेर्न मन लाग्छ; के गर्ने यो मन हो । भाषाको ज्ञान विना यो सबै कुरा कोराकल्पना मात्र हो । नजिकै कुनै गाडिको सुविधा छैन । फेरि मनलाई गाँठो पारेर आधुनिक अरवी भाषा प्रशिक्षण समात्छु ।
सँधै उठेदेखि सुत्ने बेलासम्मका गुह्य कुरामा म हाम फाल्छु । यो मेरो सामान्य जस्तो लाग्ने दैनिक नित्यकर्म जस्तै हो कुराकानीको । म कहाँ छु सबै बिसर्िएर भागेर आउने दिदीबहिनीसँगै नेपालका कुनाकुनामा हराउँछु । यी साना झिनामसिना कुराको पोको बिसाउने दुःख पीडा साटासाट गर्ने काममा म सरिक हुन्छु । सम्वाद यसरी सुरु हुन्छ-

पहिलो पीडित
प्रश्न- घर कहाँ हो दिदी या बहिनी
प्रतिप्रश्न- कहाँ नेपालमा कि कुवेतमा
प्रश्न- नेपालमा भन्नु होस न
उत्तर- सिन्धुपाल्चोक रसुवा झापा दाङ नवलपरासी यस्तै कुनै एक ।
प्रश्न- कुवेत आएको कति समय भयो
उत्तर- त्यस्तै १ महिना जति ४ महिना १५ दिन ६ महिना यस्तै यस्तै ।
प्रश्न- किन भाग्नु भएको त
उत्तर- मलाई साहुनीले कुट्पिट गर्छ खाना खान दिँदैन । आज १ हप्ता भयो मैले खबुज गहुँ÷मैदाको रोटी खाएको । त्यसमा पनि एकपल्ट मात्र दिन्छ । हिजोदेखि त त्यही पनि दिन छोड्यो अनि भागेर आएको ।
प्रश्न- तपाईंको कुवेतमा अफिस छैन त्यहाँ फोन गर्नु भएन किन त्यहाँ नजानु भएको त
उत्तर- त्यहाँ त फिलिपिनी आइमाई छे बंगालीसँग विवाह गरेर बसेकी । त्यसले पहिलो पल्ट जाँदा पनि अस्याध्यै पिटेर फेरि त्यही घरको साहुनीलाई बोलाएर पठाइ । अब फेरि भागेर आइस भने तँलाई मैले जानेको छु भन्छे । त्यो त राक्षसनी हो दाइ÷भाइ मलाई त्यहाँ नपठाउनु होस बरु म यहीँ मर्छु बिन्ती छ मलाई त्यहाँ चाहिँ नपठाउनु होस् । त्यसपछि आँखाबाट बलिन्द्र आशुका धारा निकालेर डाको छोडेर रुवाइ सुरु हुन्छ ।
प्रश्न- अफिसले अर्को राम्रो घरमा काम लगाइदियो भने काम गर्ने कि नेपाल जाने त
उत्तर- म अब घर नै जान्छु दाइ म काम गर्न सक्दिन मेरो शरीर कुटाइले गर्दा काम गर्न नसक्ने भइसक्यो । बिन्ती दाइ मलाई काममा नपठाउनु होस म घर जान चाहन्छु ।

दोस्रो पीडित
प्रश्न- नाम नेपालको ठेगाना र आएको समय भन्नुहोस त
उत्तर- मेरो नाम कान्छी या कुमारी प्रायः घरमा काम गर्ने सबैलाई बोलाउने नाम यिनै हुन् भनेर बोलाउँछन् । मेरो नागरिकतामा चाहिँ हुर्वु छुमु लामा छ । घर रसुवा हो । आएको चार वर्ष भयो।
प्रश्न- अफिसको नाम र टेलिफोन नं। थाहा छ त
उत्तर- थाहा छैन त ।
प्रश्न- तिमीले काम गरेको घरको बाबाको नाम र टेलिफोन नं। थाहा छ त
उत्तर- त्यो पनि थाहा छैन । साहुनीले सबै मसँग भएको कागजहरु च्यातेर फालिदियो । मेरो लाउने लुगा पनि छैन । म यही लुगामा आएको ।
प्रश्न- तिमीलाई आपुूले काम गरेको घरको ठेगाना थाहा छ त
उत्तर- त्यति चाहिँ थाहा रहेछ । त्यही पनि अरविक भाषामा सरर भन्न थाली मैले नबुझेर साथीलाई सहयोग मागेर टिपेर राखेँ ।
प्रश्न- तिमी कति वर्ष को भयौ
उत्तर- थाहा छैन । मेरो नागरिकतामा वा पासपोर्टमा छ । त्यहीँ हेरन ल ।
प्रश्न- पासपोर्ट कसले बनाइदिएको
उत्तर- त्यो नेपालको एजेन्टले बनाइदिएको
प्रश्न- कति पैसा तिरेर आएको
उत्तर- पैसा त लागेन दाइ । कुवेतमा काम गरेर तीन महिनाको पैसा दिनु भनेर पठाएको छ । हामीलाई त पैसा नै दिएन कसरी तिर्ने होला । नेपालमा बुबालाई एजेन्टले पैसा माग्दै छ रे
प्रश्न- कति वर्षको भयो थाहा छ
उत्तर- थाहा छैन ।
प्रश्न- पासपोर्टमा कति वर्षको बनाएर आएको त
उत्तर- खोइ २० हो कि २१ वर्ष बनाइदियो त्यो नेपालको एजेन्टले मलाई थाहा छैन ।
प्रश्न- कतिमा पढ्दै थियो नेपालमा बैनी
उत्तर- मैले पढेन दाइ

तेस्रो पीडित
प्रश्न- नाम के हो बहिनी
उत्तर- कान्छी हो ।
प्रश्न- तपाईंको पासपोर्टमा पनि कान्छि नै छ त
उत्तर- होइन पासपोर्टमा त लालमाया दमाई छ ।
प्रश्न- तपाईंको आफ्नै पासपोर्ट हो कि अर्कैको मा आएको त
उत्तर- म गाउँको अर्कै साथीको पासपोर्टमा आएको ।
प्रश्न- नेपालमा घर कहाँ हो
उत्तर- सिन्धुपाल्चोक ।
प्रश्न- कुवेत आएको कति समय भयो
उत्तर- ४ वर्ष भयो ।
प्रश्न- घरमा फोन गर्दै छौ त
उत्तर- छैन अहिले सम्म एक पल्ट पनि गरेको छैन । साहुनीलाई नेपालमा फोन गर्न जान्छु भनेको जानै दिँदैन ।
प्रश्न- कति वटा घरमा काम गर्यौ त
उत्तर- दुईटा घरमा काम गरेँ । पहिलो घरमा १ वर्ष गरेँ । त्यो घरको साहुले १ वर्षको पैसा पनि दिएन । दोस्रो साहुलाई बेचिदियो । अहिले दोस्रो घरमा बेचिदिएको पनि ३ वर्ष भयो । पैसा दिएन अनि भागेर आएको । मलाई साहुको घर यहाँ हो भनेर ठेगाना मात्र थाहा छ अरु केही थाहा छैन । टेलिफोन नम्बर पनि थाहा छैन । मेरो अफिस पनि कहाँ हो नम्बर कति थाहा छैन ।
प्रश्न- कति वर्षको भयो त
उत्तर- म अहिले १८ वर्षको भएँ । म कुवेत आउँदा १४ वर्षको थिएँ ।
प्रश्न- पासपोर्ट कसले बनाइदिएको तिम्रो
उत्तर- मेरो त पासपोर्ट बनाएको छैन । म त अर्कै दिदीको पासपोर्टमा आएको ।
यी सबै गुनासाहरु भागेर आउने प्रायःजसो सबैमा लागु हुन्छ । कोही कोही चलाखीपूर्ण तवरले भागेर बाहिर बस्नेको पनि जगजगी छ । कोही कसैको मायाजालमा परेर भाग्नेको कथा छुट्टै छ । यी सबै बुझेर बुझ्नै नसकिने कुरा छन् आएर समस्या एकातिरको सुनाउँछन् तर उनीहरुको काम गराई दोस्रो खालको हुन्छ ।
एजेन्सीले कुटेर आएका मान्छेको पनि कमी छैन । जबकि दुई जना कुटिएका दिदीहरु शरीरमा लागेका घाउका दागहरु लिएर दूतावासमा आएका थिए । कति क्रुर र निर्दयी मान्छे होलान् ती दुःख गरेर केही पैसा कमाउन आएका मानिसलाई मरणासन्न पारेर काममा पठाउने ।
विशेष गरेर श्रीलंकन र बंगालीदेशी एजेन्टहरुबाट नेपाली दिदीबहिनीहरुले पाएका दुःखका गुनासा धेरै नै बढ्दै गएका छन् । कुटाइ खाएका कुरा त झन के भन्नुर दूतावासमा आएका सबैका मुखबाट सुन्न पाइन्छ । आउने दिनमा कुवेतबाट फर्केका दिदीबहिनीले भोगेका समस्याको बारेमा जेजति देखेको छ भोगेको छ नेपालमा गएर विदेश जान चाहने महिला गाउँले दिदीबहिनीलाई जानकारी गराइदिए भने पक्कै पनि मान्छे आँखा चिम्लेर हाल्फाल्ने थिएनन होला जस्तो लाग्छ मलाई !
समस्या एक खालको मात्र होइन धेरै खालका छन् । जुन तत्कालै निराकरण गर्न मुस्किल छ तै पनि झुटा विवरणले अल्झाएर सत्य कुरा भन्ने मान्छेलाई अप्ठायारोमा पारेका छन् । यी कुरा समस्यामा परेका मान्छेले बुझ्नु पर् यो ।
balkrishnachaju@hotmail.com
१३ मई २०१०
अल जहरा

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें