LATEST:


विजेट आपके ब्लॉग पर

गुरुवार, 27 मई 2010

यी कुटाइ खाने र भाग्नेको गनगन

बालकृष्ण भट्टराई

दिन त्यसै त्यसै एक तमासले बगेको छ । यसलाई रोक्न कसैका बाउको बुताले भ्याएन वा सकेन र सायदै सक्ला भनेर विश्वास पनि म गर्न सक्दिन । मात्र यो बाटो पहिल्याउने एउटा स्रोत या बहाना बाजी हो मेरो । सँधै दिनभरिको गन्थनले वाक्क भएर कहिले कहिले त यसो बाहिर जान मन लाग्छ साथीहरु बनाउन मन लाग्छ नयाँ ठाउँ हेर्न मन लाग्छ; के गर्ने यो मन हो । भाषाको ज्ञान विना यो सबै कुरा कोराकल्पना मात्र हो । नजिकै कुनै गाडिको सुविधा छैन । फेरि मनलाई गाँठो पारेर आधुनिक अरवी भाषा प्रशिक्षण समात्छु ।
सँधै उठेदेखि सुत्ने बेलासम्मका गुह्य कुरामा म हाम फाल्छु । यो मेरो सामान्य जस्तो लाग्ने दैनिक नित्यकर्म जस्तै हो कुराकानीको । म कहाँ छु सबै बिसर्िएर भागेर आउने दिदीबहिनीसँगै नेपालका कुनाकुनामा हराउँछु । यी साना झिनामसिना कुराको पोको बिसाउने दुःख पीडा साटासाट गर्ने काममा म सरिक हुन्छु । सम्वाद यसरी सुरु हुन्छ-

पहिलो पीडित
प्रश्न- घर कहाँ हो दिदी या बहिनी
प्रतिप्रश्न- कहाँ नेपालमा कि कुवेतमा
प्रश्न- नेपालमा भन्नु होस न
उत्तर- सिन्धुपाल्चोक रसुवा झापा दाङ नवलपरासी यस्तै कुनै एक ।
प्रश्न- कुवेत आएको कति समय भयो
उत्तर- त्यस्तै १ महिना जति ४ महिना १५ दिन ६ महिना यस्तै यस्तै ।
प्रश्न- किन भाग्नु भएको त
उत्तर- मलाई साहुनीले कुट्पिट गर्छ खाना खान दिँदैन । आज १ हप्ता भयो मैले खबुज गहुँ÷मैदाको रोटी खाएको । त्यसमा पनि एकपल्ट मात्र दिन्छ । हिजोदेखि त त्यही पनि दिन छोड्यो अनि भागेर आएको ।
प्रश्न- तपाईंको कुवेतमा अफिस छैन त्यहाँ फोन गर्नु भएन किन त्यहाँ नजानु भएको त
उत्तर- त्यहाँ त फिलिपिनी आइमाई छे बंगालीसँग विवाह गरेर बसेकी । त्यसले पहिलो पल्ट जाँदा पनि अस्याध्यै पिटेर फेरि त्यही घरको साहुनीलाई बोलाएर पठाइ । अब फेरि भागेर आइस भने तँलाई मैले जानेको छु भन्छे । त्यो त राक्षसनी हो दाइ÷भाइ मलाई त्यहाँ नपठाउनु होस बरु म यहीँ मर्छु बिन्ती छ मलाई त्यहाँ चाहिँ नपठाउनु होस् । त्यसपछि आँखाबाट बलिन्द्र आशुका धारा निकालेर डाको छोडेर रुवाइ सुरु हुन्छ ।
प्रश्न- अफिसले अर्को राम्रो घरमा काम लगाइदियो भने काम गर्ने कि नेपाल जाने त
उत्तर- म अब घर नै जान्छु दाइ म काम गर्न सक्दिन मेरो शरीर कुटाइले गर्दा काम गर्न नसक्ने भइसक्यो । बिन्ती दाइ मलाई काममा नपठाउनु होस म घर जान चाहन्छु ।

दोस्रो पीडित
प्रश्न- नाम नेपालको ठेगाना र आएको समय भन्नुहोस त
उत्तर- मेरो नाम कान्छी या कुमारी प्रायः घरमा काम गर्ने सबैलाई बोलाउने नाम यिनै हुन् भनेर बोलाउँछन् । मेरो नागरिकतामा चाहिँ हुर्वु छुमु लामा छ । घर रसुवा हो । आएको चार वर्ष भयो।
प्रश्न- अफिसको नाम र टेलिफोन नं। थाहा छ त
उत्तर- थाहा छैन त ।
प्रश्न- तिमीले काम गरेको घरको बाबाको नाम र टेलिफोन नं। थाहा छ त
उत्तर- त्यो पनि थाहा छैन । साहुनीले सबै मसँग भएको कागजहरु च्यातेर फालिदियो । मेरो लाउने लुगा पनि छैन । म यही लुगामा आएको ।
प्रश्न- तिमीलाई आपुूले काम गरेको घरको ठेगाना थाहा छ त
उत्तर- त्यति चाहिँ थाहा रहेछ । त्यही पनि अरविक भाषामा सरर भन्न थाली मैले नबुझेर साथीलाई सहयोग मागेर टिपेर राखेँ ।
प्रश्न- तिमी कति वर्ष को भयौ
उत्तर- थाहा छैन । मेरो नागरिकतामा वा पासपोर्टमा छ । त्यहीँ हेरन ल ।
प्रश्न- पासपोर्ट कसले बनाइदिएको
उत्तर- त्यो नेपालको एजेन्टले बनाइदिएको
प्रश्न- कति पैसा तिरेर आएको
उत्तर- पैसा त लागेन दाइ । कुवेतमा काम गरेर तीन महिनाको पैसा दिनु भनेर पठाएको छ । हामीलाई त पैसा नै दिएन कसरी तिर्ने होला । नेपालमा बुबालाई एजेन्टले पैसा माग्दै छ रे
प्रश्न- कति वर्षको भयो थाहा छ
उत्तर- थाहा छैन ।
प्रश्न- पासपोर्टमा कति वर्षको बनाएर आएको त
उत्तर- खोइ २० हो कि २१ वर्ष बनाइदियो त्यो नेपालको एजेन्टले मलाई थाहा छैन ।
प्रश्न- कतिमा पढ्दै थियो नेपालमा बैनी
उत्तर- मैले पढेन दाइ

तेस्रो पीडित
प्रश्न- नाम के हो बहिनी
उत्तर- कान्छी हो ।
प्रश्न- तपाईंको पासपोर्टमा पनि कान्छि नै छ त
उत्तर- होइन पासपोर्टमा त लालमाया दमाई छ ।
प्रश्न- तपाईंको आफ्नै पासपोर्ट हो कि अर्कैको मा आएको त
उत्तर- म गाउँको अर्कै साथीको पासपोर्टमा आएको ।
प्रश्न- नेपालमा घर कहाँ हो
उत्तर- सिन्धुपाल्चोक ।
प्रश्न- कुवेत आएको कति समय भयो
उत्तर- ४ वर्ष भयो ।
प्रश्न- घरमा फोन गर्दै छौ त
उत्तर- छैन अहिले सम्म एक पल्ट पनि गरेको छैन । साहुनीलाई नेपालमा फोन गर्न जान्छु भनेको जानै दिँदैन ।
प्रश्न- कति वटा घरमा काम गर्यौ त
उत्तर- दुईटा घरमा काम गरेँ । पहिलो घरमा १ वर्ष गरेँ । त्यो घरको साहुले १ वर्षको पैसा पनि दिएन । दोस्रो साहुलाई बेचिदियो । अहिले दोस्रो घरमा बेचिदिएको पनि ३ वर्ष भयो । पैसा दिएन अनि भागेर आएको । मलाई साहुको घर यहाँ हो भनेर ठेगाना मात्र थाहा छ अरु केही थाहा छैन । टेलिफोन नम्बर पनि थाहा छैन । मेरो अफिस पनि कहाँ हो नम्बर कति थाहा छैन ।
प्रश्न- कति वर्षको भयो त
उत्तर- म अहिले १८ वर्षको भएँ । म कुवेत आउँदा १४ वर्षको थिएँ ।
प्रश्न- पासपोर्ट कसले बनाइदिएको तिम्रो
उत्तर- मेरो त पासपोर्ट बनाएको छैन । म त अर्कै दिदीको पासपोर्टमा आएको ।
यी सबै गुनासाहरु भागेर आउने प्रायःजसो सबैमा लागु हुन्छ । कोही कोही चलाखीपूर्ण तवरले भागेर बाहिर बस्नेको पनि जगजगी छ । कोही कसैको मायाजालमा परेर भाग्नेको कथा छुट्टै छ । यी सबै बुझेर बुझ्नै नसकिने कुरा छन् आएर समस्या एकातिरको सुनाउँछन् तर उनीहरुको काम गराई दोस्रो खालको हुन्छ ।
एजेन्सीले कुटेर आएका मान्छेको पनि कमी छैन । जबकि दुई जना कुटिएका दिदीहरु शरीरमा लागेका घाउका दागहरु लिएर दूतावासमा आएका थिए । कति क्रुर र निर्दयी मान्छे होलान् ती दुःख गरेर केही पैसा कमाउन आएका मानिसलाई मरणासन्न पारेर काममा पठाउने ।
विशेष गरेर श्रीलंकन र बंगालीदेशी एजेन्टहरुबाट नेपाली दिदीबहिनीहरुले पाएका दुःखका गुनासा धेरै नै बढ्दै गएका छन् । कुटाइ खाएका कुरा त झन के भन्नुर दूतावासमा आएका सबैका मुखबाट सुन्न पाइन्छ । आउने दिनमा कुवेतबाट फर्केका दिदीबहिनीले भोगेका समस्याको बारेमा जेजति देखेको छ भोगेको छ नेपालमा गएर विदेश जान चाहने महिला गाउँले दिदीबहिनीलाई जानकारी गराइदिए भने पक्कै पनि मान्छे आँखा चिम्लेर हाल्फाल्ने थिएनन होला जस्तो लाग्छ मलाई !
समस्या एक खालको मात्र होइन धेरै खालका छन् । जुन तत्कालै निराकरण गर्न मुस्किल छ तै पनि झुटा विवरणले अल्झाएर सत्य कुरा भन्ने मान्छेलाई अप्ठायारोमा पारेका छन् । यी कुरा समस्यामा परेका मान्छेले बुझ्नु पर् यो ।
balkrishnachaju@hotmail.com
१३ मई २०१०
अल जहरा

पत्रकारलाई ज्यान मार्ने धम्की

पत्रकार महासंघ सम्पर्क शाखा कुवैतका तदर्थ समितिका टीमलाई साउदीअरबबाट तेरो घर कहाँ हामीलाई थाहा , तिमीहरुलाई नेपाल फर्कन दिँदैनौ भनेर विभिन्न गाली गलौज गर्दै अत्यन्त निच किसिमको फोहोर अपशब्द प्रयोग गरेर ज्यान मार्ने धम्कि दिएको हुनाले यस किसिमको तुच्छ घृणित व्यवहार प्रति पत्रकार महासंघ सम्पर्क शाखा कुवैतका तदर्थ समिति घोर निन्दा प्रकट गर्दछ। यस किसिमको निच आतताईपूर्ण व्यवहार गर्न दुस्साहास गर्ने युनिटी लाइफ एस्युरेन्सका नाङ्गो अनुहार सबै जनताको माझमा दोषी ठहरिएको घाम जत्तिकै छर्लङ्ग हुँदा हुँदै पनि आफ्नो नाङ्गो नाच देखाउन पछि परेनन्। साउदीअरबबाट पत्रकार महासंघ सम्पर्क शाखा कुवैतका तदर्थ समितिका महासचिव, नेपाल कुवैत डट कम तथा मरुभूमिको कोसेलीका प्रधानसम्पादक राजन रिमाललाई गत राति मिती 25 में 2010 मा 00966-506946334 एउटा इन्टरनेटको लाइनबाट फोन गरेर धम्काएको हुनाले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यलय,काठमाण्डौं तथा एन.आर.एन.. केन्द्रिय कार्यलय, साउदी अरबको नेपाली राजदूतावास, नेपाली राजदूतावास कुवैत, नेपाल सरकार समक्ष सो मोबाइल नम्बर प्रयोग गरेर धम्काउने व्यक्तिलाई कार्वाही गर्न पत्रकार महासंघ सम्पर्क शाखा कुवैतका तदर्थ समिति विनम्र अनुरोध गर्दछ।

निवेदक
पत्रकार महासंघ सम्पर्क शाखा तदर्थ समिति, कुवैत

पत्रकार महासंघ कुवैत शाखाको तदर्थ समितिको गठन

मिती 23 अप्रिल 2010 मा कुवैतको सुक अल कबिरको पार्कमा भएको भेलामा प्रवाशी पत्रकार मञ्च विघटन गरि पत्रकार महासंघ कुवैत शाखाको तदर्थ समितिको गठन गर्नका लागि पत्रकारहरुको भेलामा छलफल र विचार विमर्श जसमा उपस्थित हुने सहभागिहरुको नाम यस प्रकार छः-
सुजन के.सी.- नेपाल कुवैत डट कम का महाप्रबन्धक
राजन रिमालः- नेपाल कुवैत डट कम का प्रधानसम्पादक
जय आलेः- कुवैत नेपाल डट कम का प्रधानसम्पादक
बिक्रम थापाः- कुवैत नेपाल डट कम का सम्पादक
शिव पौडेलः- कुवैत नेपाल डट कम का सह-सम्पादक
हरी न्यौपानेः- नेपाल कुवैत डट कम का सह-सम्पादक (इराक)
केदारनाथ खरेलः- नेपाल कुवैत डट कम का सह-सम्पादक
मनोज काफ्लेः- नेपाल कुवैत डट कम का सह-सम्पादक
नबराज पन्थीः- नेपाल कुवैत डट कम का सह-सम्पादक
सुशन गौतमः- - नेपाल कुवैत डट कम का एडमिन एण्ड ग्राफिक्स डिजाईनर
राजु गुरुङ्गः- कुवैत नेपाल डट कम का सम्बाददाता
चन्द्र तामाङ्गः- कुवैत नेपाल डट कम का सम्बाददाता
उपस्थित दुबै पत्रकार टीमको भेलाले सर्व सहमतिमा तपसिल बमोजिमको पत्रकार महासंघ कुवैत शाखाको तदर्थ समितिको गठन गरिएको थियो।

अध्यक्षः- आर.बी. बुढाथोकी
उपाध्यक्ष द्वयः- सुजन के.सी. र जय आले
महासचिवः- राजन रिमाल
सचिवः- नबराज पन्थी
कोषाध्यक्षः- केदार नाथ खरेल
सदस्यहरु
हरिकृष्ण न्यौपाने
शिवराम पौडेल
चन्द्र तामाङ्ग
विक्रम थापा
मनोज काफ्ले
लोमस वास्तोला
बिष्णु पन्थी (महिला पत्रकार)
सल्लाहाकारः- तोयानाथ दाहाल

सोमवार, 12 अप्रैल 2010

बलात्कार धार्मिक र सामाजिक अपराध

केदार नाथ खरेल-डुमरवाना-७, बारा
कर्मुल्लाह मन्सुर- कलैया, बारा
आजको आधुनिक युगमा संसारमा शिक्षित र सु-सुचित नभएका मानिसहरु सायद कमै होलान्, पश्चातापको कुरा के हो भने जति शिक्षित र विकशित हुँदै जान्छन्, त्यति नै मात्रमा हत्या, हिंसा, अपराध, बलात्कार, चोरी, डकैती जस्ता सामाजिक तथा धार्मिक अपराधमा मानिसहरु लिप्त हुँदै गइरहेका छन्। यसै कारणले प्रत्येक दिन पत्र-पत्रीका र सूचना-समाचार मार्फत केही यस्ता दुःखद घटनाहरुको खबर पढ्न र सुन्न पाईन्छ, जस्को आधारमा हामी प्रष्ट रुपमा भन्न सक्छौ मानवहरुले आफ्नो मानविय व्यवहारलाई लत्याउँदै दानविय आचरण अपनाउन थालेका छन्।
गरीबी निवारण र जीविकोपार्जनको लागि आएकी दिदी-बहिनीहरुको पिडादायक कुरा सुन्दा मानवहरुले आफ्नो मानविय मर्यादा विपरित कठोर भई मानव अधिकार हनन् गरी, निर्ममतापूर्वक तिनीहरुको हत्या, हिंसा, अत्याचार, बलात्कार जस्ता बिभिन्न पापकर्महरु गर्छन्।
आज लगभग चालीस हजार नेपालीहरु कुवैतमा कामदारको रुपमा कार्यरत छन्। जस मध्ये दिदी-बहिनीहरु बहुसंख्यक रुपमा घरेलु कामदारको रुपमा संलग्न देखिन्छ। अरुले जस्तै आफू पनि राम्रो लाउने र मिठो खाने ईच्छा लिएर विदेश जान्छन्। तर दुर्भाग्यले केही यस्ता मानिसहरुको घरमा पुग्छन्, जहाँ तिनीहरुको ईच्छा र आकाँक्षा माटोमा परिणत हुन पुग्छ। पैसा त एक छिनका लागि परै छाडौं, इज्जत-प्रतिष्ठा पनि सुरक्षित रहँदैन। यस्तो अवस्थामा तपाई हाम्रो दायित्व के हुन सक्छ ? र यस समस्याको समाधानको लागि के कस्तो पाइला चाल्नुपर्छ ? जसको आधारमा नेपाली दिदी बहिनीहरुलाई सुख-सुविधा प्राप्त हुनेछ। उक्त सम्बन्धमा लेख्नु पर्ने थुप्रै कुराहरु त धेरै छन् तर संक्षिप्तमा केही महत्वपूर्ण कुराहरु लेख्न चाहन्छु।
(क) सर्वप्रथम कुरा यो हो कि बलात्कार धार्मिक र सामाजिक पाप हो। कुनै पनि धर्मले यस प्रकारको पाप गर्ने अनुमति दिएको छैन। इस्लाम धर्मले त झन यसलाई ठूलो पाप मानेको छ। यसर्थ यसको दण्ड-सजाय पनि त्यति नै दिर्घकालीन तोकेको छ। बलात्कार प्रमाणित भएमा अविवाहित पुरुष र अविवाहित नारी मध्ये प्रत्येकलाई सय कोर्रा लगाउन र एक बर्ष सम्म गाऊँ-घर छोडी अन्तै बस्न आदेश दिएको छ। तर विवाहित पुरुष र विवाहित नारीका लागि बलात्कारको दण्ड-सजाया "रज्न " अर्थात ढुङ्गाले हानी मृत्युदण्ड दिनु हो। त्यो पनि यस्तो ठाँउमा जहाँ मानिसहरुले उसलाई देख्न सकुन किनकि यसबाट बलात्कार जस्तो पाप कर्म गर्न डराउन र आफुलाई त्यस किसिमको कुकर्मबाट जोगाउन सकुन।(ख) बलात्कारले मानिसलाई यस संसारिक जीवनमा पनि हिनता बोध हुन्छ, भने पारलौकिक जीवन पनि नष्ट हुन्छ। यदि ईश्वरले क्षमा गर्नु भएन भने नर्कमा उसले दण्ड-सजाया भोग्नुपर्छ। (ग) बलात्कारले मानिसको सन्तान नाश हुन्छ। आमा-बाबुको नाम ठेगाना थाहा हुँदैन। फेरि पछि त्यस अवैध सन्तानले नागरिकताको प्रमाण-पत्र पाउनको लागि अत्यन्तै समस्या हुन सक्छ। (घ) बलात्कारको कारणले गर्दा कति पय मानिसहरुलाई एड्स जस्तो भयानक रोग लाग्न सक्छ। जसले गर्दा मानिसको आरमदायी जीवन नै सखाप पार्छ। (ङ) व्यभिचारी पुरुष र व्यभिचारिणी महिलाको गाँउ-समाजमा मान-मर्यादा हुँदैन र सर्वसाधारण मानिसहरुले यस्ता अपराधी पुरुष तथा नारीलाई घृणाको दृष्टिले हेर्छन। (च) यस्ता खालका पापी मानिसहरुसँग बिहे गर्न कसैले रुचाउदैनन्। (छ) मलाई विश्वास छ कि प्रायः नेपाली दिदी-बहिनीहरु यस प्रकारका दुष्कर्मबाट टाढै बस्छन् तर केही मानिसहरुले तिनीहरुलाई रुपैयाँ पैसाको प्रलोभन देखाएर तिनीहरुको मान-मर्यादा र प्रतिष्ठासम्म माटोमा मिलाई दिन्छन् भने कसैले तिनीहरुको कोपिलापनले लाभान्वित हुँदै आफ्नो ईच्छा-पूर्ति गर्छन्। घरेलु कामदारलाई घर मालिकको कुट-पिट र दुष्कर्म पूर्ण व्यवहारले गर्दा घरबाट भागेर अन्तै कसैसँग शरण लिन पुग्दा तिनै शरणकर्ताको हवासको सिकार हुनुपरेको पनि धेरै घटनाहरु सुन्न पाईन्छ। तर यहाँ यसै प्रशंगमा यस्ता पीडित दिदि-बहिनीहरुले आफूलाई कसरी मुक्ति दिलाउन सक्छन त ? यसै प्रशंगमा तल केही सुझावहरु दिईएका छन् यिनलाई ध्यानपूर्वक पढी सकेसम्म अपनाउने प्रयास गर्नुहुन्छ भन्ने दृढ विश्वास गर्छु। (क) घरमा पुरुष एक्लै हुँदा ऊ सँग टाढा नै रहनुहोस् र आवश्यक अनुसार नै उसको सेवा गर्नुहोस् र अनावश्यक कुराकानी नगर्नुहोस् साथै ड्राईवरसँग पनि सावधान रहनुहोस्। (ख) आफ्नो मुस्कानको सुरक्षा गर्नुहोस्, लोकप्रिय हुनुहुन्छ। (ग) कसैले तपाई माथि दमन गर्न चाहेमा नेपाली एम्बेसी, अफिस (मख्तब), आफन्त, नातागोता, दाजु-भाई तथा दिदी-बहिनीहरु र अन्य नेपाली सहयोगी संघ-संस्था, भद्रभलादमी व्यक्तिलाई उक्त सम्बन्धमा जानकारी गराई आफूलाई मुक्त गराउने उपाय अपनाउनुहोस्। (घ) पुरुषको अगाडि साधारण रुपमा रहनुहोस्, ज्यादा सिंगार पटार गरेर कदापि नजानुहोस्। (ङ) सकेसम्म दैनिक प्रयोग गरिने केही महत्वपूर्ण अरबी वाक्यहरु घरकी साउनी र अन्य दिदी बहिनीहरुको सहायताबाट छिटो सिक्नुहोस् ताकि तपाईलाई बारम्बार पुरुषहरुसँग सोध्ने आवश्यकता नपरोस्। (च) केही यस्ता औषधीहरु प्रयोग नगर्नुहोस् जसले तपाईलाई पाप कर्म गर्न प्रोत्साहित गरोस्। यदि कसैले तपाईलाई औषधी खुवाइ गलत प्रयोग गर्न चाहेमा घरमा भएका अरु सदश्यहरुलाई जानकारी गराउनुहोस् (छ) यदि तपाई घर भाडामा लिएर बाहिर काम गर्नुहुन्छ भने असुरक्षित ठाँऊमा एक्लै कहिल्यै पनि नबस्नुहोस् कुनै ईमान्दार दिदी-बहिनीहरु भएको ठाँऊमा सरी हाल्नुहोस्। (ज) खानपिनमा पनि अन्य हानीकारक चीजहरुको (मादक पदार्थ) प्रयोग नगर्नुहोस् बरु भ्याएसम्म कहिलेकाँही भोकै बस्ने बानी बसाउनुहोस्, यसले तपाईको शरीरको सुरक्षा हुनसक्छ। (झ) प्रत्येक नेपालीको प्रथम दायित्व यो हो कि नेपाली दिदी-बहिनीहरुलाई आदर-सम्मान गर्दै सकेसम्म तिनीहरुको निःस्वार्थ सहयोग गरून्। म नेपाल सरकारसँग यो अनुरोध गर्न चाहन्छु कि कम उमेरकी बहिनीहरुलाई विदेश जान प्रतिबन्ध लगाउनु उचित हुनेछ।
अन्तमा नयाँ वर्ष सन् 2010 को पावन अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको कामना गर्दै सबै नेपालीहरुको कल्याणहोस् र नेपालको विकास होस् भन्ने सुभ-कामना व्यक्त गर्न चाहन्छु।

कुवैतको सफर जेल

केदार नाथ खरेल
२९ जनवरी २०१० कुवैत,
कुवैतको जिलीब स्थित सफर जेलमा महिला तथा पुरुष कति छन् भनेर प्रश्न गर्दा हालको रेकर्ड अनुसार पुरुष २३ तथा महिला २८ जना गरी जम्मा ५१ जना नेपालीहरु रहेको जेल निकायले जनाएकोछ। विभिन्न कारणमा जेलमा परेका नेपालीहरुलाई भेट्न मित्र सिंजाली बाहेक अन्य कसैले पनि चासो नदिएको भन्दै किरण गिरी गुनासो पोख्नु हुन्छ। कुवैतमा राजदूताबास खुलेको छ भन्ने सुनेका छौ तर दूतबासले हाम्रा लागि केही गर्लान् कि भन्ने आशा लिएका थियौं तर दुई महिना बित्न लाग्दा पनि दूताबासका कोही कर्मचारीहरुको अनुहार नदेखेपछि दूताबास हाम्रा लागि होईन रहेछ भन्ने बुझ्यौं। किरण गिरीले न्याउरो अनुहारमा भनेः धन कमाएर परिवारलाई सुख दिने आशामा विदेश आइयो, यसरी अर्काको देशमा जेलभित्र कुहिएर बस्नुपरेको छ। हाम्रो जेलभित्रको आवाज सम्बन्धित ठाउँमा पुर्याइदिए हामी सबै निकै आभारी हुने थियौं। छोटो कुराकानीको दौरानमा उनले आफ्नो र आफ्ना साथीहरुका पीडा पोख्दै गए। धेरैजसो साथीहरु सामान्य मुद्दामा परेका छन्। हामीले पनि कुनै जघन्य अपराध गरेका छैनौं तर सरकारको प्रतिनिधिले यहाँ आएर समन्वय गरी सजिलै छुट्याउन सक्थे तर केही गर्ने कसैले चासो नदिएपछि हाम्रो उद्दार कसले गरिदिने उनको प्रतिप्रश्न थियो। हाम्रो भन्दा पनि यहाँ रहेका नेपाली दिदी-बहिनीहरुको अवस्था निकै नाजुक छ र उनीहरुलाई हामीले भेट्न पनि सक्दैनौं। जति पनि महिला जेलमा परेकाछन् उनीहरुलाई भेट्न महिला प्रतिनिधि नै जानुपर्ने हुन्छ तर यहाँ महिलाप्रतिनिधी नभएको हुँनाले तिनीहरुको आवाज सुनिदिने कोही छैनन्।
यसै क्रममा कुवैतका विभिन्न जेलमा डोल्मा शेर्पा सहित महिला पुरुष गरी लगभग २४२ जना नेपालीहरु भएको कुरा सरोकार वाला बताउँछन्। जसमा ३२ जना नेपाली महिलाहरुको साथमा बच्चा छन् भने कयौं गर्भवती पनि छ्न्। कुवैत जेलमा कुमारी आमाहरु प्रशस्त रहेका छन् । तर तिनका छोरा-छोरीको जिम्मा लिने बाबु कोही छैनन् । कुवैतको कानून अनुसार सम्बन्धित देशका दूताबासले प्रमाणित गरेको अवस्था बाहेक विवाह दर्ता प्रमाण-पत्र बिना विवाह गर्न र बच्चा जन्माउन तथा सँगै बस्ने अनुमति छैन। गतवर्ष रुकुमकी पार्वती बस्नेतले जेलमै रहेको अवस्थामा आफ्नो पेटमा भएको बच्चालाई फ्याक्ने दबाइ सेवन गर्दा अत्याधिक रक्तश्राप भएको हुनाले जेल अधिकारीहरुले थाहा पाएपछि बाल हत्या गरेको भनी अदालतले १४ बर्ष जेल कैदको फैसला सुनाएको थियो। जब कि उनी सामान्य घरबाट भागेर बाहिर रहँदा पुलिसले सपिङ महलमा समातेर जेल परेकी थिइन्। तर यदि त्यस्तो भ्रूण हत्या गर्ने काम नगरेको भएदेखि केही महिना पछि उनी सजिलै तबरबाट नेपाल जान सक्थिन्। उनका अस्थायी पति भने पार्वतीलाई यस्तो सजाय भएको थाहा पाएपछि उनी वेपत्ता भएका छन्।

कुवैतमा गणतन्त्र दिवस तथा स्वतन्त्रता दिवसको वार्षिक उत्सव २५ फेब्रुअरीमा

केदार नाथ खरेल, कुवैत-खेतान
कुवैतको गणतन्त्र दिवस र स्वतन्त्रता दिवसको वार्षिक उत्सव एक पटक फेरी फर्केर आएको छ। किनकि स्वतन्त्रता दिवसको खुशी ल्याउन, कुवैतवासीले आफ्नो प्रिय देशलाई प्रेम र आस्था नवीकरण गर्न पाउने यो सुवर्ण अवसर हो यो; यसैले यस सुनौलो अवसरमा कुवैतका राजाले आफ्नो जनतासँग एक हात...एक दिल...एक धड्कन र एक आवाज...बनेर कुवैतको नाम र छविलाई उच्च स्थानमा पुर्याउन एक जुट भएर लाग्न आह्वान गर्नु भएकोछ।
सन् १९९० मा इराकी शासक सद्दाम हुसेनद्वारा हस्तक्षेप हुँदा उसको चंगुलबाट संयुक्त राष्टसंघको पहलमा २८ देशका बहुराष्टिय संयुक्तसेनाद्वारा इराक विरुद्ध प्रत्याक्रमण गरि स्वतन्त्रता दिलाउने काममा नेपालले पनि बहुराष्टियसेनामा सहभारिता जनाएको थियो। उक्त समयमा इराकलाई पराजित गरि कुवैतलाई स्वतन्त्रता दिलाएको थियो। "विनास कालले विपरित बुद्धि" भने झै सद्दाम हुसेनले कुवैतमा आक्रमण गर्नाले अनन्त फाँसीमा चढ्नु पर्यो। यही खुशियालीमा यस बर्ष १९ औं स्वतन्त्रता स्मृति दिवस मनाउने तयारी भएको छ साथै अहिले कुवैतमा ४९ औं गणतन्त्र दिवसको स्मृति दिवस मनाउने भएका छन्।
महामहिम शैख अब्दुल्लाह अल-सलिम अल-सबाहको शासनकालमा सन् १९ जुन १९६१ मा कुवैतको स्वतन्त्रताको घोषणा भयो। वहाँले सन् १९५० देखि कुवैतमा शासनाधिकार सम्हाल्नु भएको थियो, जुन दिन शासनाधिकार सम्हाल्नुभयो; त्यो फेब्रुअरी २५ तारिख थियो। यस कारण दुबै स्मृति दिवसलाई संयुक्तरुपमा मिलाएर कुवैतमा फेब्रुअरी २५ मा हरेक बर्ष स्वतन्त्रता दिवस मनाउने गर्दछन्।
स्वतन्त्रताको शुभ-प्रभात उदय भएको दिन देखि कुवैतको शासनको जिम्मेवारी सबाह खान्दानको तत्वदर्शी नेतृत्वमा शुरु भएपछि आफ्नो प्रजाको उन्नति, सम्पन्नता र शान्तिपूर्ण जीवनको लागि जागरुकता र निरन्तर विकासको पथमा अग्रसर छ। कुवैतको एघारौं बादशाह महामहिम शैख अब्दुल्लाह अल-सलिमको (१९५०-१९६५) को शासन कालमा सन् १९५९ मा कुवैतको आन्तरिक स्वतन्त्रताको सम्बन्धमा केही महत्वपूर्ण कदम उठाउनु भयो। कुवैतको यो कोसिस थियो कि आफ्नो र अन्य अरब देशको बीच सम्बन्धलाई दृढ राख्नु। वहाँले अरब लिगको साथ राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा आफ्नो सम्बन्धलाई मजबुत बनाउनु भयो। यसै गरि सेप्टेम्बर १९५८ मा अरब लिगको सदस्यता प्राप्त गर्ने प्रयाश पनि गर्नु भयो तर पारस्पारिक रुपमा स्वतन्त्र नभएको कारण सदस्यता मिल्न सकेन।
स्वतन्त्रता दिवस र गणतन्त्र दिवस
जब कुनै राज्यलाई आफ्नो आन्तरिक मामला र वैदेशिक नीतिको पुरा अधिकार प्राप्त हुन्छ त उसलाई स्वतन्त्र राज्य मान्न सकिन्छ। कुवैतले ब्रिटेनसँग २३ जनवरी १८९९ मा स्वतन्त्रता प्राप्तिको लागि प्रस्ताव पेश गरेको थियो। जुन महामहिम शैख अब्दुल्लाह अल-सलिम अल-सबाह महोदयको शासन कालमा १९ जुन १९६१ मा स्वतन्त्रता प्राप्त गर्न सफल भयो। यसप्रकार दुई देशको बीच सम्झौतानुसार कुवैत राष्टिय तथा अन्तराष्टिय मामलामा पूर्णतः स्वतन्त्र भयो साथै यो घोषणा गरियो कि "कुवैतको नेतृत्वमा आधारित स्थाही शासन हो"। कुवैतको पूर्ण स्वतन्त्रतासँगै विकासको नयाँ शुरुआत हुन थाल्यो। यसप्रकार कुवैत पनि आधुनिक देशको पथ अनुसार अग्रसर हुँदै गयो र यस्तो प्रसन्नता प्राप्त भयो जुन उसले पहिले कहिल्यै सोचेको थिएन। कुवैतले शिक्षा दिक्षाको क्षेत्रमा विभिन्न ज्ञान तथा कलालाई अपनायो। सन् १९७२ मा नेपालको कुवैतसँग दौत्य सम्बन्ध कायम भएको थियो
स्वतन्त्रता पछिको स्थिती
स्वतन्त्रता पश्चात प्रशासन प्रणालीको प्रथम ढाँचा यस्तो तय भयो कि संविधान बनाउन चुनावको माध्यमद्वारा जनमतबाट विजयी प्रतिनिधीले संविधान बनाउने तथा जीवनको विभिन्न क्षेत्रसँग सम्बन्धित र स्थायी कानूनमा सम्मिलित संविधान बनाउन महामहिम शैख अब्दुल्लाह अल-सलिम अल-सबाहले २६ अगष्ट १९६१ मा अध्यादेश (शाही आदेश) जारी गर्नुभयो।
सन् २० जनवरी १९६२ मा महामहिम शैख अल-सलिम अल-सबाह महोदयले सम्मेलनको पहिलो बैठकको प्रारम्भ गर्नुभयो र ११ नोभेम्बर १९६२ मा उक्त संविधानलाई प्रस्ताबमा पेश गरेको थियो जसलाई संविधान सभाले पास गर्यो। त्यसबेला कुवैतमा संवैधानिक तवरले प्रशासन प्रणालीको रुप-रेखा यस्तो बन्यो।
(१) यहाँको प्रशासन प्रणाली लोकतान्त्रिक हुनेछ।
(२) जनवादी सत्ता हुनेछ र जनता प्रत्येक अधिकारको मालिक हुनेछन्।
(३) कुवैतको सत्ता शैख अल-सबाहको वंशमा एक वंशानुगत शासन हुनेछ।हाल कुवैतका लागि राजा शैख अहमद जाबेर अल-सबाह हुनुहुन्छ। वहाँकै कार्यकालमा हाल नेपाल सरकारको तर्फबाट कुवैतका लागि नियुक्त हुनुभएका प्रथम राजदूत महामहिम मधुवन प्रसाद पौडेलज्युले आफ्नो कार्यआरम्भ गर्नुभएको छ। आशा गरौं हाम्रो महामहिम राजदूतज्युले दुई देश बीच राजनैतिक, कूटनैतिक, बैदेशिक, व्यापारीक र कुवैतमा रहेका आम नेपालीहरुको पीडा, रोदन, चित्कारहरुलाई हृदयगम गरि यहाँका हरेक समस्या र हक हितको लागि यथासम्भव सुल्झाउँदै उच्च छविको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा राख्दै यस जटिल परिस्थितीमा वहाँलाई साथ दिन हामी कुवैतवासी सम्पूर्ण नेपालीहरु एक जुट भई हातमा हात, काँधमा काँध मिलाउदै साथ दिन तयार रहेको प्रतिबद्दता व्यक्त गर्दछौं ।

झूट बोल्नु के राम्रो हो त ? सन्दर्भः अप्रैलफुल

केदार नाथ खरेल- बारा, डुमरवाना-७ आदर्शनगर
हाल-कुवैत, खेतान
हाम्रो समाजमा विभिन्न किसिमको विकृतीले जरो गाढेको छ, यस्तो विकृती कि हामी त्यसको पहिले कल्पना पनि गर्न सक्दैनथ्यौं। त्यस्तै विकृती मध्ये अप्रिलफुल पनि हो। यसले हामीलाई झूट बोल्ने आदत बसाउने कोसिस गर्दछ।
मजाक गर्नको लागि, ठट्टा गर्ने उदेश्यले, दोश्रालाई बेबकुफ बनाउनको लागि, दोश्रालाई भ्रमित पार्नको लागि, दोश्रालाई डराउने उदेश्यले अप्रैलको पहिलो दिनमा हामी झूट बोल्ने गर्दछौं। यस झूठले कति मानिसको ज्यान, कतिको धन, त कतिलाई आपतमा पारेको छ। कसैलाई तेरो घरमा आगो लागेको छ भन्ने बित्तिकै उसको होसहवास उड्छ, कति मानिसलाई तेरो श्रीमति अर्को केटासँग सुतेकी छ भन्ने बित्तिकै उसले बिना सोच समझमा पिटेर घरबाट निकाली दिन्छ त, कसैले रिसको झोकमा मारी दिन्छ र कसैले छोड्पत्र गर्न पुग्छ। कसैलाई तेरो बुबा, आमा, श्रीमति वा छोरा-छोरीको मृत्यु भएको खबर सुन्ना साथ आफूले आफूलाई कन्टोलमा राख्न नसकी एक्कासी हृदयघात भएर मृत्यु हुन पुग्छ।
यो संस्कार जसले गर्दा हरेक दृष्टिले हानी नोक्सानी त छँदैछ, त्यति मात्र होइन उसको समाजमा मान, मर्यादा, इमान्दारिता, व्यवहारमा घटिया पन देखिन्छ। त्यति मात्र हैन उसले गरेको उक्त अपराधले जुन अमानविय घटना घट्न पुग्छ त्यस पश्चातापले हम्मेशा जलिरहन्छ। यो संस्कारको शुरुआत पनि अचम्म लाग्दो छ। सन् १५६४ भन्दा पहिले फ्रान्समा नयाँ बर्ष अप्रैलमा मनाउने चलन थियो तर हाल फ्रान्समा नयाँ बर्ष जनवरीमा मानाईन्छ। अप्रैलमा नयाँ बर्ष मनाउने अवसरमा रोमका बासिन्दाहरु झूट बोलेर मनाउने गरेको जानकारी स्रोतबाट पाइन्छ र पछि गएर जनवरीलाई नयाँ बर्ष माने पनि अप्रैललाई झूठ बोलेर मनाउने चाढको रुपमा मान्यता पाउँदै आयो र बिस्तारै बिस्तारै यो चलन सारा विश्वभर फैलिन थाल्यो र बार्षिकी चाढ पर्वको संस्कारको रुपमा मान्यता पाउन थाल्यो।
यसको महत्व जे सुकै होस् तर सामाजिक र व्यवहारिक दृष्टिकोणले यसले समाजमा विकृती र विसंगतीहरु निम्त्याउँछ नै धार्मिक दृष्टिकोणले पनि बर्षको कुनै दिनलाई पनि झूट बोल्ने आज्ञा कुनै पनि धार्मिकग्रन्थले दिएको छैन, मजाकमा होस या साँच्चो रुपमा, आखिरी झूट झूट नै हुन्छ। यस्ता घृणित कार्यबाट आफू पनि सजक हुनपर्छ र अरुलाई पनि सजक गराउनु असल नागरिकको कर्तव्य हो।